दफा १७
लिखतको सामान्य त्रुटि सच्याउने
(१) अदालतमा लिखत पेस गर्ने पक्ष वा व्यक्तिले एक पटक दर्ता भईसकेको लिखतमा लेख, टाइप वा मुद्रणबाट हुन गएको सामान्य त्रुटि सच्याउन चाहेमा सो बेहोरा स्पष्ट रुपमा उल्लेख गरी अदालतमा निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदन पर्न आएमा अदालतले दर्ता गरी त्यस्तो निवेदन मागबमोजिम त्रुटि सच्याउन मनासिब देखेमा त्यस्तो निवेदनलाई नै लिखतको पूरकको रुपमा मिसिल सामेल गर्ने आदेश दिन सक्नेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिखतको जुन बेहोरा सच्याउनका लागि माग गरेको हो, सोबाट मुद्दाको सम्पूर्ण कारबाही वा इन्साफमा तात्विक असर पर्न सक्ने देखेमा अदालतले त्यस्तो निवेदनलाई पूरक लिखतको रुपमा स्वीकार नगर्ने गरी आदेश दिनेछ।
(४) उपनियम (२) बमोजिम त्रुटि सच्याउने गरी आदेश भएकोमा अदालतले आवश्यक देखेमा सो त्रुटि सच्याएको जनाउ अर्को पक्षलाई दिन सक्नेछ।